हाम्रो सोच कि हाम्रो संस्कार ? — बरिष्ठ डाक्टर सुवास घिमिरे

 

— बरिष्ठ डाक्टर सुवास घिमिरे
काठमाडौं।
नेपाल आज एउटा अचम्मको दोबाटोमा उभिएको छ। एकातिर हामी “समृद्ध नेपाल” को सपना देख्छौं, नारा लगाउँछौं, योजना बनाउँछौं। अर्कोतिर, त्यही समृद्धिको एउटा सानो झल्को कसैले देखायो भने हामी असहज हुन्छौं। खुशी हुनुको सट्टा शंका गर्छौं। प्रशंसा गर्नुको सट्टा आरोप लगाउँछौं।

बिज्ञापन

यो विरोधाभास केवल व्यवहारमा होइन, हाम्रो सोच र संस्कारमै गहिरो गरी गाडिएको छ। हामी सबैलाई सफल बन्नु छ, धनी बन्नु छ, अगाडि बढ्नु छ। तर, जब कोही त्यो लक्ष्यमा पुग्छ, हामी उसलाई “चोर”, “फटाहा” वा “अनैतिक” भनेर चिनाउन हतारिन्छौं।

प्रश्न उठ्छ—
के नेपालमा सफलता आफैंमा अपराध हो?
आज देशका ठूला उद्योगीहरू—भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ हुन् वा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका उपेन्द्र महतो—यी सबैले हजारौँलाई रोजगारी दिएका छन्, राज्यलाई करोडौँ कर बुझाएका छन्। उनीहरूको पसिनाले हजारौँ परिवारको चुलो बलिरहेको छ। तर विडम्बना के छ भने, समाजको एउटा हिस्सा उनीहरूको योगदान होइन, केवल सम्पत्तिलाई मात्र देख्छ।

हामी किन यस्तो छौं?
के व्यापार गर्नु गलत हो?

के वैधानिक रूपमा कमाएको धन शंका गर्नुपर्ने विषय हो?
यदि कसैले आफ्नो मेहनत, लगन र बुद्धिले महल बनाउँछ भने, त्यसलाई सम्मान गर्न नसक्नु हाम्रो मानसिक गरिबी होइन र? हामी अझै पनि “भुइँमा सुत्ने नै इमान्दार” र “सोफामा बस्ने नै शंकास्पद” भन्ने पुरानो भाष्यबाट मुक्त हुन सकेका छैनौं।
झनै दुःखद कुरा त के छ भने, समाजलाई मार्गदर्शन गर्नुपर्ने भनिएका बुद्धिजीवी, पूर्व सचिव, राजनीतिज्ञ र सामाजिक अभियन्ताहरू नै कहिलेकाहीँ उद्यमीहरूलाई अपराधी जस्तो चित्रण गर्न रमाउँछन्। जब राज्यले कर तिर्ने व्यवसायीलाई नै सस्तो लोकप्रियताका लागि कारबाही गर्छ, हामी ताली बजाउँछौं।
तर, कहिल्यै सोच्यौं?

यो ताली वास्तवमा कसका लागि हो? देशका लागि कि हाम्रो आफ्नै असफल सोचका लागि?

 

राज्य चल्ने नै करले हो। कर तिर्नेहरू नै राष्ट्र निर्माणका आधार हुन्। तर, यदि कर तिर्नेलाई अपमान गरियो भने, लगानीकर्ताले किन नेपाल रोज्ने? यदि वैधानिक रूपमा कमाउनेलाई “चोर” र कर छल्नेलाई “चतुर” मान्ने संस्कार बस्यो भने, समृद्धि कसरी सम्भव हुन्छ?

यही निराशाको बीच केही आशाका किरण पनि देखिन थालेका छन्। पछिल्लो समय राजनीतिमा उद्यमशील सोच भएका, युवावर्गका प्रतिनिधित्व गर्ने अनुहारहरू देखिन थालेका छन्। उनीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा, उनीहरूको पारदर्शिता देख्दा, नयाँ सोचको संकेत पाइन्छ।

तर फेरि पनि हामी त्यहीँ छौं—
उनीहरूको इमान्दारिता देख्नुभन्दा पनि आलोचना गर्न व्यस्त।
विगतमा धेरैले सम्पत्ति लुकाए, गरिबीलाई नै महानताको आवरण बनाए। तर आजको पुस्ताले बुझ्न थालेको छ । देश समृद्ध हुन, नागरिक समृद्ध हुनुपर्छ। कम्पनी नाफाले चल्छ। सामाजिक संस्था दानले चल्छ। र सरकार—करले चल्छ।

यदि हामीले नाफा कमाउनेलाई गाली गर्यौं, दान दिनेलाई शंका गर्यौं र कर तिर्नेलाई अपमान गर्यौं भने, यो देश कसरी अघि बढ्छ?
अब समय आएको छ—हामीले आफ्नो सोच बदल्ने।
समृद्धिलाई शंका होइन, सम्मान गर्ने।

उद्यमशीलतालाई अपराध होइन, प्रेरणाको रूपमा लिने।
हामीले बुझ्नैपर्छ गरिबी कुनै गौरव होइन, समृद्धि कुनै अपराध होइन।समृद्धिलाई उत्सव बनाउन सक्ने समाज मात्र समृद्ध बन्छ।
अर्काको सफलतामा खुसी हुन सक्ने संस्कार नै साँचो सभ्यता हो।
किनकि अन्तत जब एक जना नागरिक सफल हुन्छ, तब मात्र एउटा राष्ट्र सफल हुन्छ।