

नेपालको खेलकुद क्षेत्रमा गर्वको पल आउन थालेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको ‘राष्ट्रिय धरोहर उत्कृष्ट खेलाडी सम्मान-२०८२’ समारोहमा नेपाली खेलकुद र युवा प्रतिभालाई थप प्रेरणा प्रदान गरिएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड सभाहलमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माननीय जगदिश खरेलले अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दो रेफ्री र खेलाडी दीपेन्द्र ढकाललाई विशेष सम्मान गरिएको हो। उनको अथक मेहनत, समर्पण र नेपाली खेलकुदको अन्तर्राष्ट्रिय मान्यता विस्तारमा निभाएको भूमिकालाई यसले थप बलियो बनाएको छ।


दीपेन्द्र ढकालले आफ्नो अन्तर्राष्ट्रिय रेफ्री र खेलाडीको रुपमा नेपाली तेक्वान्दोको नाम विश्वव्यापी फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको योगदानले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको छ भने युवा पुस्तालाई खेलकुदप्रति आकर्षित र प्रोत्साहित बनाएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले यस सम्मानको माध्यमबाट युवा प्रतिभालाई हौसला प्रदान गर्दै, राष्ट्रिय धरोहरको संरक्षण र प्रवर्धनमा जोड दिएको छ। दीपेन्द्र जस्ता युवा खेलकुद व्यक्तित्वलाई सम्मान गर्नाले नयाँ उर्जा र प्रेरणा सृजना भएको छ।
यस सम्मानले नेपाली खेलकुद र युवा पुस्ताको उज्जवल भविष्यतर्फको यात्रा अझ तीव्र बनाउने विश्वास व्यक्त गरिएको छ। यस्तै कार्यक्रमले खेलकुद र व्यक्तित्व विकासलाई राष्ट्रिय जागरूकता र गर्वको विषय बनाएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७० सालदेखि नेपालको राष्ट्रिय औपचारिक पोशाकको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानले यस वर्ष १३ वर्ष पूरा गरेको छ ।
यस अवसरमा पुस १६ गते साँझ बसन्तपुरमा जेन्जी आन्दोलनका क्रममा घाइते भई सहिद भएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो । त्यसैगरी पुस १७ गते बिहान पञ्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि सम्पन्न भएको थियो ।
पुस १७ गते दिउँसो नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरूलाई अभिनन्दन तथा सम्मान गरिएको हो। कार्यक्रम संस्थापक तथा अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल, नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल, टोपी अभियन्ता शंकर बन्जाडे, गीतकार लोकराज अधिकारी, पत्रकार भोजराज थापा, तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल, लेखिका अर्चना झा, आध्यात्मिक प्रवाचक संजेलजी महाराज, दिपकिशोर भट्टराई, कबिन्द्र न्यौपाने (बामन) लगायतलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।
कार्यक्रममा बैंकर अनिल केशरी शाह, अभिनेता प्रदीप खड्का, दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मा, मधेसी आयोगका अध्यक्ष माननीय डा. विजय कुमार दत्त, डा. भवानी राणा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
संसारभर रहेका नेपालीलाई पोशाक, टोपी र सांस्कृतिक पहिचानमार्फत एकताबद्ध गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानले नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको आयोजकको निष्कर्ष रहेको छ ।
यसैगरी, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खेलकुद प्रतिभा र पत्रकारिताका पुरस्कार तथा सम्मान समारोहमा, दीपेन्द्र ढकाललाई नेपाल र नेपालीको गौरव बढाउन गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै, उत्कृष्ट निर्णायकको रुपमा छनौट गरी नगद रु १,००,००० र ‘राष्ट्रिय खेलकुद प्रतिभा सम्मान २०८०’ बाट सम्मानित गरेको हो।
चीनको बुहानमा २०७६ कात्तिकमा सम्पन्न सातौं विश्व सैनिक खेलकुद ओलम्पिकमा पनि रेफ्रीका रुपमा सहभागी भएका दीपेन्द्र, नेपाली तेक्वान्दोको नाम विश्वव्यापी फैलाउन सफल भएका छन्। उनले २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स सम्पन्न गरेका थिए र त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको रुपमा सक्रिय छन्।
लालीगुराँस तेक्वान्दो डोजाङबाट प्रारम्भिक यात्रा थालेका उनी, अहिले विश्वव्यापी प्रतियोगितामा रेफ्री भएर नेपालको नाम चम्काइरहेका छन्। दक्षिण एसियाली खेलकुद (साग), क्यानडा, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, बेल्जियम र स्पेनजस्ता देशहरूमा सम्पन्न प्रतियोगिताहरूमा उनले निर्णायकको भूमिका निभाएका छन्।
विशेषगरी, ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो २०२२’ मा वेस्ट निर्णायकको रुपमा घोषित भएका दीपेन्द्रले गत वर्ष स्पेनको एलिकान्टेमा भएको ‘वर्ल्ड जीटु तेक्वान्दो च्याम्पियनशिप’ मा पनि वेस्ट रेफ्रीको जिम्मेवारी सम्हालेका थिए। उक्त प्रतियोगिता ७९ देशका एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो, जहाँ ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए।


