


बनेपा — मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा सल्लाहकार राजकुमार हुमागाईंको प्रमुख आतिथ्य र अध्यक्ष गोपाल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भयो।


सभामा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सचिव नवराज आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास तिमिल्सिना र लेखा सुपरिवेक्षण समिति संयोजक देवप्रसाद कोइरालाले प्रस्तुत गरे। संस्थामा हाल १० हजार १०३ सदस्य रहेका छन्। शेयरपूँजी १६ करोड २३ लाख, निक्षेप १ अर्ब ९५ करोड ६९ लाख, ऋण लगानी १ अर्ब ७७ करोड १२ लाख, जगेडा कोष १६ करोड ८६ लाख र खुद नाफा ४ करोड १ लाख ९६ हजार रहेको जानकारी दिइयो।

कार्यक्रममा शेयर सदस्यहरूलाई सम्मान गरिएसँगै संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल र प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई संस्थागत योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गरिएको थियो ।
सहकारीले स्वास्थ्य उपचार, सुत्केरी खर्च, श्रद्धाञ्जली राहत, विमा, मोबाइल बैंकिङ तथा सिपमूलक तालिम लगायत सदस्य–केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमिल्सिनाले बताए। रक्तदान, स्वास्थ्य शिविर र स्टेशनरी वितरणजस्ता सामाजिक उत्तरदायित्वका कार्य पनि गर्दै आएको उनले उल्लेख गरे।
कार्यक्रममा पूर्वअध्यक्ष बालकृष्ण दाहाल, वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, काभ्रेपलाञ्चोक बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकाललगायतले मन्तव्य राखे। उत्कृष्ट बचतकर्ता, ऋणी, बाल सदस्य, शेयर सदस्य तथा जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो। स्वागत उपाध्यक्ष विदुर प्रसाद घिमिरेले गरेका थिए।
त्यसैगरी, “उत्कृष्ट सेवा केन्द्र” को रूपमा गोदामचोक सेवा केन्द्रलाई सम्मान गरियाे भने “उत्कृष्ट कर्मचारी सम्मान” सुदर्शन दाहाललाई प्रदान गरिएको थियो ।


