काठमाडौं,
असार २७ ।
माधवराज खरेलद्वारा निर्देशित चलचित्र ‘चिठ्ठी’ आगामी भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण सञ्चारकर्मी कमला जोशीले गर्नुभएको हो भने वितरणको जिम्मेवारी कुवेर सिने डिष्ट्रिब्युशनले लिएको छ ।
केही समयअघि काठमाडौंमा विशेष प्रदर्शनी गरिएको यो चलचित्रप्रति दर्शकले देखाएको माया र प्रतिक्रिया सकारात्मक रहेको निर्माण पक्षले जनाएको छ । लगभग दुई घण्टा लामो चलचित्र ‘चिठ्ठी’ हरर, कमेडी, स्पेन्स र थ्रिलर शैलीमा तयार गरिएको हो । चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा हेर्न पाउनेछन् ।
चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे र नम्रता खरेल प्रमुख भूमिकामा हुनुहुन्छ । त्यस्तै, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला र कविन्द्र त्रिपाठीलगायत कलाकारको विशेष उपस्थिति रहेको छ ।
चलचित्रको संगीत सरोज कोइरालाले गनुभएको हो भने गीतका शब्द डा.कृष्णहरि बराल र कमला जोशीले लेख्नुभएको छ । गीतहरूमा शिव परियार, बेनिशा पौडेल र वसन्त अर्यालको स्वर समावेश गरिएको छ । शिव ताण्डव गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईंले गर्नुभएको छ । निर्देशक खरेलका अनुसार, शिव ताण्डवले चलचित्रमा अलग आकर्षण थप्नेछ ।
छायांकन जीवन पराजुली र राजन खरेलले गरेको चलचित्रको सम्पादन राजेश कुमारले गर्नुभएको छ । समिर मियाँको ग्राफिक्स र भिएफएक्स, किरण दाहालको द्वन्द्व निर्देशन, पुष्कर खत्रीको पाश्र्व संगीत, मनोज परियारको साउण्ड मिक्सिङ र अमित श्रेष्ठको ५.१ साउण्ड डिजाइन चलचित्रको प्राविधिक पक्षमा समावेश छ ।
चलचित्रको गीत, ट्रेलर र पोष्टर चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । प्रचारप्रसार सामग्री अमृत चापागाईं र साहिल खानले तयार गर्नुभएको छ ।