मलेसियामा भएको वर्ल्ड जुनियर टुरिजम एम्बेसडरमा दुई नेपाली बालकले विभिन्न उपाधि जितेका छन्।
अदृत कुँवरले प्रिन्च जुनियर टुरिजम एम्बेसडरको शीर्ष उपाधि जित्दा निर्भय श्रेष्ठ फष्ट रनरअप बने।
उपाधि विजेताहरूले नेपाली कला र संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याए।
काठमाडौँ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शीर्ष सहित विभिन्न उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को शीर्ष उपाधि जित्दा सोही प्रतियोगितामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे ।
प्रतियोगितामा शीर्ष उपाधि जितेको कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जित्न सफल रहे ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगितामा सहभागी गराएको हो ।
‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्द्धन समेत गरेका छन् ।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गरेका थिए ।
दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवर्द्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए । जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गरेको बताइन्छ ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी भएका थिए । दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।