धुलिखेल । राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट सुरु भएको छ । शनिबार धुलिखेलबाट सुरु भएको कार्यक्रम देशका सातै प्रदेशमा हुने बताइएको छ । पुस्तक विमर्श कार्यक्रम घट्दो पठन संस्कृतिलाई बढाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । मृत्युको मुखबाट संघर्ष गरि प्रथम महिला बन्न सम्मको राधिका शाक्यको संघर्ष र भोगाईको साक्षी बन्दै जीवनलाई बुझ्न र मानवीय करूणाको भाव जगाउन पुस्तक सफल रहेको पाठकहरूले प्रतिक्रिया दिएका छन् । देशको प्रथम महिला भइकन पनि शालीन र इमान्दार व्यक्तित्वको छवि बनाउनुभएको प्रधानमन्त्री पत्नी शाक्यले जीवनका भोगाई र उतारचढावका श्रृङखलाहरूलाई शब्द, भावना, इमान्दारिता र कलामा उनेर प्रस्तुत गर्नुभएको छ ।

‘करूणा’ पुस्तक विमर्श कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राधिका शाक्य

विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम महिला शाक्यले सामाजिक सञ्जालले समाजलाई नकारात्मकतातिर डोहोर्याइरहेको बताउनुभयो । केपी ओलीलाई गाली गर्नमै त्यसको प्रयोग भएको दुखेसो व्यक्त गर्नुभयो । पञ्चायतकालीन दमन सहेर अगाडि बढिरहेको अवस्था स्मरण गर्दै उहाँले अहिलेको स्वतन्त्र वातावरणमा गरिएको नकारात्मक टिप्पणीले व्यक्तिगत रुपमा असर पार्न नसक्ने बताउनुभयो । केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी हुनेहरूकै भविष्य अन्धकार हुने टिप्पणी शाक्यको छ । ‘उहाँहरूले आफ्नो गोडामा आफैले बन्चरो हान्दै हुनुहुन्छ’, आफ्ना सन्तानका भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ, शाक्यले भन्नुभयो । सामाजिक सञ्जालका नकारात्मक टिप्पणीले आफूहरूलाई तनाव नहुने बताउनुभयो । आफूले बिराएको छैन, नराम्रो काम गरेको छैन, देश माथि घात गरेको छैन भने आफूलाई असर नपार्ने प्रष्ट पार्नुभयो ।

शाक्यको जीवनमा आमा र बुबाको कति ठुलो सम्बन्ध छ भन्ने विषयलाई पुस्तकले बोलेको छ । आफ्नो जीवनमा महत्वपूर्ण दुई पुरुषहरू बा र केपी सर भनेर उहाँले पुस्तकमा चर्चा गर्नुभएको छ । बा जसले जन्माउनुभयो । भयो केपी सर जोसँग आफू अन्मिएर गएँ भन्ने प्रसंगलाई उहाँले पुस्तकमा सुन्दर एवं कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।

धुलिखेलको विकास र यहाँको समग्र वस्तुस्थितको बारेमा राधिका शाक्यलाई जानकारी दिनुहुँदै नगरप्रमुख अशोक कुमार व्याञ्जु

कार्यक्रममा धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्याञ्जुले स्वागत गर्दै पुस्तक बिमर्श कार्यक्रम धुलिखेल नगरपालिकाबाट सुरु गर्नुभएकोमा लेखिका एवं प्रकाशकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नबिल बैंकका कामु सिइओ मनोज ज्ञवाली, पाणिनी पुस्तक प्रकाशन गृहका अध्यक्ष रामबाबु नेपालले पुस्तकको विषयमा जीवन र जगत्का विषयहरू समेटिएको र त्यसमा करूणा पात्र स्वयं लेखिका शाक्य भएको बताएका छन् । कार्यक्रमको सञ्चालन पाणिनी प्रकाशनका शिवशक्ति आचार्यले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly