रेडियो प्रस्तोता तथा समाचार वाचिकाको रुपमा स्थापित नाम हो कमला जोशी । उहाँले पत्रकारिताको साथ साथै बिगत सात वर्ष देखि निरन्तर रुपमा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । कुईनेटो, दुर्गामाण्डौ लगायतको चलचित्रहरुको निर्माण गर्नुभएकी कमला जोशीले हालसालै माधब राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठीको निर्माण गर्नु भएको हो । खड्गबहादुर पुनमगर “खबपु”, गोपाल ढकाल “छन्दे” नवराज थापा, संजीत भण्डारी, मुस्कान लामा, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, कञ्चन चालिसे, रश्मी भट्ट, प्रवण भुषाल, उद्धव भट्टराई, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु लगायतको अभिनय रहेको उक्त चलचित्रको विषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले निर्माता कमला जोशीसँग गरिएको कुराकानी :

० चलचित्र क्षेत्रमा कसरी प्रबेश भयो ?
मेन स्ट्रिम मिडयामा पत्रकारिता गर्ने क्रममा मैले नेपाली चलचित्र क्षेत्रलाई नजिक बाट नियाल्ने मौका पाएकी थिए, मेरा थुप्रै चलचित्रकर्मीहरु पनि साथी थिए । उनिहरुको सल्लाह सुझाव अनुसार नै मैले चलचित्र क्षेत्रमा प्रबेश गरेकी हुँ । विगत सात वर्ष भन्दा लामो समयदेखी निरन्तर रुपमा म नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेकी छु । अर्थात चलचित्रको निर्माण गर्ने काम गर्दै आईहरेकी छु ।

० तपाईले यस अवधिमा निर्माण गरेका चलचित्रहरु के के हुन् ?
मैले चलचित्र कुईनेटो, दुर्गामाण्डौ, चिट्ठी गरी ३ वटा चलचित्रको निर्माण गरेकी छु । चलचित्र दुर्गामाण्डौले थुप्रै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा आफ्नो सक्रिय सहभागिता समेत जनाएको छ र थुप्रै अन्तराष्ट्रिय महोत्सवहरुमा चलचित्रको प्रदर्शनी समेत भएको थियो । चलचित्रले ३ वटा अन्तराष्ट्रिय र २ वटा राष्ट्रिय अवार्ड समेत जित्न सफल भएको छ । त्यसैगरी चलचित्र चिट्ठीको भर्खरै मात्र निर्माण कार्य सकेर हामीले छिट्टै नै प्रदर्शनीको तैयारी गरिरहेका छौं । हामीले चलचित्र चिट्ठीको पहिलो गीत“ टुटेको तारा”लाई यसै हप्तावाट ओएस्आर डिजिटल च्यानलवाट आधिकारिक रुपमा सार्वजानिक समेत गरेका छौं । शिव परियारको स्वर, डा. कृष्णहरी बरालको शब्द र संचारकर्मी सरोज कोईरालको संगीत रहेको उक्त गीतलाई दर्शकहरुको मन पराई रहनु भएको छ ।

० चिट्ठी कस्तो चलचित्र हो ? यसलाई दर्शकले किन हेर्ने ?
चिट्ठी सामाजिक कथा बस्तुमा बनेको कमेडी जनराको चलचित्र हो । दर्शकहरुले सिनेमा हेरुञ्जेल पुर्ण रुपमा मनोरञ्ञ्जन लिन सकुन् भन्ने ध्येय हामीले लिएका छौं ।

० चलचित्र कहिलेवाट प्रदर्शनमा आउँछ त ?
यतिवेला हामीले चलचित्रको सम्पुर्ण प्राविधिक कार्य सकेर प्रचार प्रसारको क्रममा छौं । संभवतः हामी नयाँ सालको २०८१ को छेको पारेर चलचित्रलाई प्रर्शनमा ल्याउनेछौं । अहिलेलाई मुख्यतयः अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमा हुने विशेष प्रर्दशनी र प्रचार प्रसार नै प्रमुख हो ।

० यतिबेला नेपाली चलचित्रको बजार कस्तो छ ? तपाईसंग आफ्नो चलचित्रलाई बजार ब्यवस्थापन गर्ने रणनिति के छ ?
चलचित्रको बजार पहिलेको भन्दा केही राम्रो पक्कै पनि भएको छ । राम्रा चलचत्रिहरुले आफ्नो लगानी सुरक्षित गरेर फाईदा समेत कमाएका छन् । हामी पनि हाम्रो चलचित्रलाई लिएर पक्कै पनि उत्साहित भएका छौं । बजारमा राम्रो सामान लग्यो भने पक्कै पनि विक्रि हुन्छ भन्ने मान्यता हाम्रो पनि रहेको छ । हाम्रो सामानमा जलप लगाएको छैनौं तसर्थ चलचित्र चिट्ठी आम दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं ।

० चलचित्रमा सहभागी कलाकारहरु को को छन् ?
चलचित्रमा प्राय कलाकार कमेडी सेक्टरमा जमेका अनुभवि छन् । खड्गबहादुर पुनमगर “खबपु” , गोपाल ढकाल “छन्दे” नवराज थापा, संजीत भण्डारी, मुस्कान लामा, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, कञ्चन चालिसे, रश्मी भट्ट, प्रवण भुषाल, उद्धव भट्टराई, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु लगायतका कलाकारहरु रहेका छन् ।

० कलाकारहरु अलि नयाँ भएनन् र ?
पहिले सवै नयाँ हुने हो, अनि काम गर्दै जाँदा पुराना हुने हुन । अव जहाँसम्म नयाँको कुरा गर्नु भएको छ मोहन निरौला, शान्तिप्रिय, गोपाल ढकाल “छन्दे”, श्रदेब भट्टराई रश्मी भट्ट, संजीत भण्डारी लगाएतका कलाकारहरु जसले आफ्नो जीवनको थुप्रै कालखण्ड यस क्षेत्रमा बिताई सक्नु भएको छ अव तपाईले उहाँहरुलाई कसरी नयाँ भन्न सक्नुहुन्छ । जहाँ सम्म खबपु, नवराज, मुस्कान, कञ्चन लगायतका कलाकारहरु छन् उनिहरु आ–आफ्नो क्षेत्रमा ख्याति कमाएका र दर्शकहरुका विचमा लोकप्रिय रहेका कलाकारहरु हुन् । कमेडि च्याम्पिनबाट खबपु चम्किएका हुन् भने कमेडि सिरियलहरुवाट नवराज, मुस्कानहरु चम्किएका कलाकार हुन् । अब पुराना कलाकारहको एकै प्रकारको अभिनयवाट केही समय भएपनि नयाँपनको आभाष दिलाउन नयाँ शैलिमा केहि राम्रा कलाकारहरुको आगमन हुँदैछ, पक्कै पनि दर्शकहरुले साथ दिनुहुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं ।

० अन्त्यमा ?
सबै निर्माता निर्देशकहरुले भने जस्तै नेपाली चलचित्रलाई माया गरिदिनुस् भन्नु भन्दा पनि राम्रो चलचित्रलाई माया गरिदिनुस् । चलचित्रलाई हलमै गएर हेर्ने संस्कारको विकास गरौं । चिट्ठी पक्कै पनि राम्रो चलचित्र बनेको छ एक पटक हेरेर हाम्रो कामको मुल्याँकन गरिदिनुस् । हामी छिट्टै चलचित्रलाई सार्वजानिक प्रदर्शनी गर्ने मिति घोषणा गर्दैछौ । यहि भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..