काभ्रेपलान्चोक – नेपाली गीत संगीतमा निरन्तर लागि रहेका अभिनव चौहानका थुप्रै सिर्जनाहरु बजारमा छन् । पछिल्लो समयमा उनको आवाज अभिनय र शब्द संगीतमा धेरै गीतहरु बजारमा आइसकेका छन् । त्यस मध्य पनि विशेषगरी उनले गीत सिर्जना र लेखनमा जोड दिएको पाइन्छ । चौहानले लोक तथा दोहोरी गीतलाई मुख्य विधाको रुपमा अगाडि बढाएका छन् । उनको सिर्जनामा हरेक महिना जसो गीतहरु बजारमा आउने गरेका छन् । प्रस्तुत छ क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले उनै सर्जक तथा गायक अभिनव चौहानसँग गरेको कुराकानी           

 

   
० तपाईंको बिचारमा गीत संगीत भनेको के हो ?
गीत संगीत हाम्रो समाजको ऎना हो । जसले हाम्रो समाजमा घटेका घटनाहरुलाई समेटेको हुन्छ । हाम्रो हरेक परिस्थितिलाई साथ दिएको हुन्छ । अझै अर्को शब्दमा भन्दा हाम्रो समाजको अभिङ्ग अंग हो जस्तो लाग्छ । हरेक परिस्थिति घटना र हाम्रो चाडपर्वमा गीत संगीतले नै धेरै कुरा बोल्दै मनोरञ्जन र दु:ख सुखमा साथ दिँदै आएको छ । त्यसैले यसलाई समाजबाट अलग गरेर हेर्न सकिदैन ।हामी र हाम्रो समाजको हरेक गतिविधिसँग जोडिएको छ ।
० पछिल्लो समय टिकटकमा गीत काटेर राख्ने चलन छ यसलाई कसरी लिनुहुन्छ ?
यसलाई नराम्रो भन्न मिल्दैन,राम्रो हो । सबै जना यसैमा रमाएका छन धेरै गीतहरु टिकटकको माध्यमबाट चलेका पनि छन् । टिकटकमा भाइरल भयो भने गीत चल्यो भन्ने समय पनि छ तर गीत संगीतलाई यसकै आधारमा मात्रै गीतको मूल्यांकन गरियो भने त्यति न्यायोचित हुदैन ।
० गीत संगीतको यात्रा शुरु गरेको कति वर्ष भयो ? यो अवधिमा के के पाउनु भयो ?
यस क्षेत्रमा निरन्तर यात्रा गरेको करिब ३ वर्ष जति भैसक्यो । मैले के पाए भन्दा पनि मैले यस क्षेत्रलाई के दिए भन्ने कुराले ठुलो महत्त्व राखेको हुन्छ । मैले के दिए भन्ने मूल्यांकन गर्ने जिम्मा श्रोता दर्शकको नै हो तर मैले यस क्षेत्रबाट धेरै कुरा पाएको छु । जस्तैः आफ्नो पहिचान, लाखौं दर्शक श्रोताको माया यहीँ क्षेत्रमा रहनु भएका कलाकारहरुसँगको चिनजान यहीँ क्षेत्रमा आउन चाहाने नयाँ भाई बहिनीहरुको अथाह माया मेरो लागि ठुलो कुरा हो ।
० तपाईंका सिर्जनाहरु हेर्न चाहानेहरुका लागि केही सिर्जनाको नाम लिनुपर्दा ?
मैले धेरै जसो विछोडका र तीज गीहरुमा कलम चलाएको छु । त्यस मध्य लालुमै वर पिपलको छाँया, आमाले किन्दिएको पछ्यौरी, माया नहिड तर्केर, सारी लर्काउँदै, माइतीघरको आँगनी, चुरा हातैमा, यो मनमा पीर, मलाई छोडेसी, माया मारिछौँ मायालु, भरमा पर्दिन, दशैँ आयो तिहार आयो, आएका छन् परदेशी घरमा, अझै माया लाछैन , सुपा देउराली माई, यो देशको मुहार फेर्ने कहिले हो ? लगायतका थुप्रै गीतहरु अभिनव चौहान सर्च गरेर पनि युटुबम हेर्न सक्नु हुनेछ ।
० तपाईंको अध्ययन ?
मैले नेपाली विषय बाट व्याजलर पास गरेको छु । सायद नेपाली विषय पढेको भएर पनि होला जसले गर्दा गीत लेखनमा निकै सहज भएको छ । धेरै नेपाली शब्दहरु जान्ने मौका पाए त्यसैबाट गीत बनाउन सजिलो हुन्छ ।  

० गीत संगीतको अलवा अरु केही गर्नुहुन्छ ?
गीत संगीतको साथ साथै व्यवसाय तिर पनि काम गर्दै आएको छु ।आफ्नै होटल छ । त्यता पनि समय दिनुपर्छ । त्यहीँ हो गीत संगीत अनि व्यवसाय दुबैलाई अगाडि बढाएको छु ।
० गीत संगीत क्षेत्रमा नलागौ जस्तो लाग्दैन ?
सायद सकिदैन होला यो भनेको नशा रहेछ । अरु कुनै कुराको नशा नभएपनि मलाई यसको नशा लागिसकेको छ । चटक्कै माया मार्न सकिदैन । कुनै कारण वश गीतहरु रेकर्ड गराउन नसकुला तर गीत लेख्ने काम छोड्न गाह्रो छ ।
० कस्तो जीवनशैली मन पराउनु हुन्छ ?
म एकदमै साधारण र सामान्य जीवनशैली मन पराउने मान्छे हो ।कतिको नभएर पनि देखाउने बानी हुन्छ । म भएर पनि देखाउन देखाउन खोजदिन । मलाई लाग्छ म भन्दा कम हुने साथी पनि मेरो सामु आउँदा आफुसँग केही नभएको महसुस नगरोस् ।
० अरुको तुलनामा सर्जक अलि कति ओझेलमा हो ?
गायक मोडलको तुलनामा सर्जकहरु अलि ओझेलमा हुन्छन् । सबैले सर्जकलाई ख्याल गर्ने चिन्ने गर्दैनन् तर यस क्षेत्रमा लाग्नु भएका र अलि चासो दिनेले कसले बनाएको गीत हो भनेर ख्याल गर्नु हुन्छ ।
० तपाईंको पछिल्लो सिर्जना कुन हो ?
अझै माया ला छैन पछि लगत्तै बजारमा अहिले आएको यो देशको मुहार फेर्ने कहिले हो सार्वजनिक गरेको छु । कृष्ण लामिछानेको स्वर र संगीत अनि मेरो शब्द सिर्जनामा गीत आएको छ । जसमा अहिलेको समसामयिक विषयलाई उठाउन गरेको छु ।
० अन्तमा ?
मेरो केही कुराहरु राख्न दिनु भएकोमा तपाईं लगायत तपाईंको मिडिया परिवार लाई धेरै धेरै धन्यवाद ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly