पनौती नगरपालिका वडा नं. ६ मा जन्मनु भएको मदन बस्नेत काभ्रे जिल्लाको सहकारी क्षेत्रमा चर्चित नाम हो भन्दा फरक नपर्ला । बस्नेत अहिले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । २०५८ साल बाट यस संस्थामा कामको सुरुवात गरेको बताउनु भयो । पछि बिस्तारै कार्य परिवर्तन हुँदा लेखा सहायक, कार्यालय सहायक, ऋण सहायक हुँदै ऋण अधिकृतको पदमा कार्य गर्दै २०७२ भाद्र १६ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएको बताउनु भयो । सामुदायिक साकोस काभ्रे जिल्लाकै राम्रो सहकारी मध्यको एक हो । पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ । काभ्रेका केही सहकारी संचालक र व्यवस्थापकहरु फरार रहेका छन् भने केही सहकारीले बचत कर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । यस सहकारीले यो अवस्थामा आफ्ना बचत कर्ताहरुलाई दिएको सेवा सुबिधाहरु लगायत बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतसँग गरेको समसामयिक कुराकानी : 

० सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. २०५१ साल माघ १४ गते ४१ जना ब्यक्तिहरु बाट ३२,५०० रकम संकलन गरी शुरुवात गरिएको संस्था हो । एक अर्कालाई आर्थिक समस्या पर्दा सहकारी मार्फत गर्जो टार्ने उद्देश्यले शुरुवात भएको संस्था हो । संस्था दर्ता हुँदा संस्थाको कार्यक्षेत्र टौखाल देबिस्थान गा.वि.स. को वडा नं. १ र २ मात्र संस्थाको कार्यक्षेत्र रहेको थियो । अहिले संस्थाको कूल पूँजी ४ अर्ब ४० करोड पुगेको छ। शेयर सदस्यहरु ५० हजार भन्दा बढी संस्थामा आबद्ध भएका छन् । संस्थाको ३३ करोड जगेडा कोष रहेको छ । संस्थाले सदस्यहरुलाई जन्मदेखि मृत्यू संस्कार सम्मका सेवाहरु उपलब्ध गराउँदै आएको छ । संस्थामा हाल ११५ जना कर्मचारीहरु कार्यरत छन् । संस्थाले सदस्यहरुलाई १५ वटा कार्यालयहरु मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

० पछिल्लो घटना पछि सामुदायिक साकोसको अवस्था कस्तो छ ?
सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा २०८० बैशाख १९ गते डकैती भएको छ । यो विषय सहकारी संस्थाहरुलाई सुरक्षाको चुनौती बनेको छ । आर्थिक मन्दीको एउटा नतिजा हो यो । हामीले यस्ता घटनाहरुलाई निरुत्साहित गर्न सकेनौं भने चोरी डकैतीका घटनाहरु दिन प्रतिदिन बढ्दै जानेछन् । त्यसैले यससँग सम्बन्धीत सुरक्षा निकायलाई यस्ता घटनाहरुको नियन्त्रण गर्न सुरक्षा संयन्त्रहरु परिचालन गर्न र यस संस्थामा घटेको घटनाको बारेमा सिघ्र अनुसन्धान सम्पन्न गरी नतिजामा पुग्न आग्रह गर्दछु । यस संस्थाले सुरक्षात्मक दृष्टिकोणले सि.सि. क्यामराको डबल ब्याकअपको ब्यवस्था, ईन्टरनेटको माध्यमबाट हुनसक्ने जोखिमलाई न्यूनीकरणका लागि फायरवालको ब्यवस्था गरेको छ । संस्थाका सम्पत्तिहरुमा सम्भावित जोखिम न्यूनीकरणका लागि संस्थामा रहने नगद तथा सम्पत्ती सामानहरुको विमा गरेको छ । संस्थामा रहने नगदको हामिले ४ करोड २० लाखसम्मको बिमा गरेका छौं त्यसकारणले पनि यस घटनाबाट संस्था र संस्थाका शेयर सदस्यहरुलाई कुनै पनि हानी नहुने जानकारी पनि दिन चाहान्छु । चोरीमा संलग्न अभियुक्तहरुलाई प्रहरीले १२ दिन भित्रै पक्राउ गरी अनुसन्धान गर्दैछ । चोरी भएको रकम मध्ये एक जनाको साथबाट ५ लाख ४५ हजार रकम समेत बरामद भएको छ भने अन्य अभियुक्तहरुबाट रकम बरामद हुने विश्वास छ । अभियुक्तबाट बरामद हुन नसकेको रकम विमा कम्पनीले भुक्तानी गर्ने ब्यवस्था रहेको जानकारी गराउँदछु ।

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ? सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
संस्था बलियो हुन संस्थाका कोषहरु बलियो हुनुपर्दछ । सहकारी संस्थाको मेरुदण्ड भनेको जगेडा कोष हो । जगेडा कोष बृद्धिको लागि संस्थाको नाफा बृद्धि हुनु जरुरी छ । सहकारी ब्यवसाय भनेको नाफामूखि ब्यवसाय चाँही होइन तर पनि संस्था सञ्चालन गर्दा नाफा प्राप्त हुन्छ । त्यही नाफाबाट राज्यलाई कर भुक्तानी गर्ने, संस्थाको जगेडा कोष बृद्धि हुने, संरक्षित पूँजि फिर्ता कोष खडा हुने, शेयर सदस्यहरुलाई लाभांश वितरण हुने हुन्छ । सहकारी संस्थाले लिने र दिने बिचको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा बढी राख्न पाउँदैन । त्यही ६ प्रतिशत भित्रबाट संस्थाले प्रशासनिक खर्चहरु धानेर केही रकम बचाउँछ त्यो नै नाफा हो । हुने खानेसँग भएको पैसा हुँदा खानेसम्म पुर्याउने एउटा माध्यम हो सहकारी संस्था । सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बन्न, रोजगार बन्न, सम्पत्ती तथा जायजेथा बढाउन मद्दत गर्दछ । जहिले पनि सहकारी संस्थाले सदस्यहरुलाई नकमाउने सम्पत्ती खरिदमा निरुत्साहित गरेको हुन्छ । संस्थाले लगानी गरेको रकमबाट रोजगारीको सृजना होस्, सदस्यको आर्थिक अवस्थामा सुधार होस् भन्ने हेतुले लगानी गरेको हुन्छ र संस्थाले आवश्यक परामर्श सहित लगानी गरेको हुन्छ । तथापी सधैं संस्थाले लगानी गरेको रकम सदस्यले सहि ठाउँमा प्रयोग गर्छन् भन्ने हुँदैन । संस्थाबाट लिएको रकम सहि ठाउँमा प्रयोग नगरी दुरुपयोग भयो भने संस्थाले लगानी गरेको ऋण सदस्यले फिर्ता गर्न सक्दैन । यदी एउटा सदस्यले लिएको ऋण फिर्ता गर्न सकेन भने त्यहाँ कयौं सदस्यहरुले गाँस काटेर जम्मा गरेको पैसा परेको हुन्छ । त्यसैले कुनै एक ब्यक्तिलाई जोगाउन संस्थाका कैयौं सदस्यहरुको पसिना परेको रकम मिनाहा गर्न सकिन्न त्यसैले यस्तो अवस्थामा कहिले काँही सहकारी संस्थालाई आरोप लाग्न सक्छ । यसलाई सामान्य रुपले लिनु पर्दछ यो एउटा प्रकृया हो ।

० दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
सहकारी संस्थामा दोहोरो सदस्यताको विषयमा पटक पटक आवाज उठेको छ । कुनै ब्यक्तिले एक भन्दा बढी सहकारी संस्थामा रकम जम्मा गर्छ भने त्यसमा रोक लगाउनु हुँदैन । समस्या ऋणमा हो यसलाई समाधान गर्नका लागि सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता दिएर सहकारीको तथ्यांक पनि कर्जा सूचना केन्द्रमा अद्यावधिक भयो भने दोहोरो सदस्यताले खास्सै फरक पर्दैन । बैंकमा जति वटामा पनि खाता खोल्न सकिने तर सहकारीमा एउटामा मात्र सदस्यता हुने भन्ने विषय खास्सै प्रभावकारी होइन यो एउटा सहकारी क्षेत्रलाई गरिएको अनविश्वास हो ।

० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
केही सहकारीहरुमा समस्या आएकै हो । कस्ता खालका सहकारी संस्थामा समस्या आएको छ भन्ने पनि स्पष्ट देखिएकै छ । सहकारी संस्थामा समस्या आउनुमा दुई खालको अवस्था देखेको छु । एक सहकारी संस्था सञ्चालन गर्ने ब्यक्तिहरुकै नियत खराब भएको कारणले गर्दा र अर्को चाँही कुनै एउटा सहकारीमा समस्या आउँदा अब यो सहकारीमा पनि समस्या आउन सक्छ भनेर धेरै बचतकर्ताले एक्कै पटक बचत फिर्ता माग गरेमा कुनै पनि सहकारी संस्थाले फिर्ता दिन सक्दैन । त्यसैले शेयर सदस्यहरु नै चनाखो हुनुपर्ने र आफूले कारोबार गरीरहेको सहकारी संस्थाको मासिक रुपमा अवस्था कस्तो छ भनी सार्वजनिक गरेको वित्तीय प्रतिवेदन सामान्य भाषामा लेखिएको हुन्छ त्यसलाई अध्ययन गरेर र बुझेर कारोबार गर्दा सुरक्षित भईन्छ । सहकारी संस्थाको मात्र दोष छैन यसमा सदस्यको भूमिका पनि उत्तीकै महत्वपूर्ण हुन्छ किनकी सहकारी संस्था भनेको सदस्यको आफ्नो हो भन्ने भावना जागृत हुनु जरुरी छ र ब्याजको अनावश्यक प्रलोभनमा पर्नु हुदैन । यस विषयमा समाजमा जागरुकता फैलाउने र वित्तीय रुपमा सहकारी शिक्षा प्रदान गर्नु सहकारी संस्था र अभियानको पनि दायित्व हुन्छ । कही कतै यस विषयमा कमी कमजोरी भएकै छ ।

० तपाई सामुदायिक सहकारीको प्रबन्धक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
यस सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले यो आर्थिक संकटमा समेत सदस्यहरुलाई ऋण लगानी गरी नै रहेको छ । यस संस्थाले शेयर सदस्यहरुको सुख दुःखमा साथ दिंदै आएको छ । सदस्य बिरामी पर्दा उपचार खर्च देखि सदस्यको मृत्यू हुँदा परिवारमा किरिया खर्च सहित समवेदना प्रकट गर्दछ । सदस्यको परिवारमा मृत्यू हुँदा पारिवारिक राहतको ब्यवस्था गरेको छ । सदस्यहरुलाई संस्थाको विभिन्न गतिविधिहरुमा सहभागी गराएको छ । सदस्यहरुलाई उद्यमशिल बनाउन विभिन्न किसिमका तालिमहरु दिँदै आएको छ ।

० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवा सदस्यहरु सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा आकर्षित नै छन् । यस संस्थामा ४५ प्रतिशत भन्दा बढी युवा सदस्यहरु रहनु भएको छ । युवा सदस्यहरुलाई आकर्षित गर्न वित्तीय कारोबारमा प्रविधिको प्रयोग अति नै आवश्यक हुन्छ । ए.टी.एम. कार्डको ब्यवस्था, मोवाईल बैंकिंङ, क्यू.आर. पेमेन्ट, वालेटहरुमा रकम लोड गर्ने ब्यवस्था तथा युटिलिटि विल्सहरु मोवाईलबाट भुक्तानी गर्ने ब्यवस्था जस्ता सुविधाहरुबाट युवा वर्ग आकर्षिक हुन्छन् । यी सबै ब्यवस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले गरेको छ ।

० भावी योजनाहरु के छन् ?
संस्थाले आगामी दिनमा नयाँ नयाँ प्रविधिहरुको उच्चतम प्रयोग गर्ने, शेयर सदस्यहरुलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्न सेवा केन्द्रहरु थप गर्ने, सदस्यहरुलाई उद्यमशिल र रोजगार बनाउन तालिम तथा सहुलियत ऋणहरुको ब्यवस्था गर्ने, वित्तीय रुपमा सदस्यहरुलाई साक्षर बनाउने जस्ता कार्यक्रमहरु ल्याउनेछ । यस्ता कार्यक्रमहरुले स्थानीय स्तरमा उद्यमशिलताको विकास गर्दै सदस्यहरुलाई स्वरोजगार बनाउन मद्दत गर्नेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..