
बुढा गणेश मन्दिर परिसरमा युवा परिवर्तन समाजद्वारा बृहत् सरसफाइ अभियान सम्पन्न


काभ्रे।
“सामूहिक सोच समाज निर्माणको आधार” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै युवा परिवर्तन समाज, बाँसडोल को आयोजनामा बुढा गणेश मन्दिर परिसरमा बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।


अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धार्मिक तथा सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त श्रमदान कार्यक्रममा समाजसेवी सोम लामा लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, युवाहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय उपस्थिति रहेको थियो।


कार्यक्रममा सहभागीहरूले सामूहिक श्रमदानमार्फत मन्दिर परिसरको सरसफाइ गर्दै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको सन्देश प्रवाह गरेका थिए।
समाजसेवी सोम लामाले युवाहरूको यस्ता रचनात्मक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
युवा परिवर्तन समाज, बाँसडोल ले समाज रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक, वातावरणीय तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ।

