हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा निकै बहस तथा पैरवीहरु भइरहेको देखिन्छ । खासगरी आर्थिक बर्षको अन्यतिर यस्ता बिषयहरुले अलि बढी महत्व समेत पाइरहेका हुन्छन । किनभने आर्थिक बर्षको अन्त्य तिर ऋणीहरुबाट निरन्तर रुपमा उठाउँदै आइरहेको ब्याज र ऋणको किस्ता असूलीले संस्थाको अवस्था लेखा परिक्षण प्रतिवेदनमा उल्लेख हुने हुँदा संस्थाको गतिविधि तथा आर्थिक पाटो विश्लेषण गर्दै संस्था कुन र कस्तो अवस्थामा छ भन्ने कुरा ऐना जतिकै छर्लं· हुन्छ । सहकारी सिद्धान्त, मूल्य मान्यता भन्दा पनि पछिल्लो अवस्थामा सहकारी संस्थाहरु कूल पूँजी, र्आिर्थक अवस्थामा बृद्धि लगायतका बिषयहरुमा आम मानिस तथा शेयर सदस्यहरुले विश्लेषण गर्दै राम्रो तथा सन्तोषजनक रुपमा छ भन्ने विश्लेषण गर्ने गरेको पाइएको छ ।
संस्थाबाट ऋण लगानी भइरहँदा संस्थाले सहकारी ऐन, नियमावली, संस्थामा आन्तरिक रुपमा बार्षिक साधारणसभाबाट स्विकृत गरी लागु गरेको नीति मार्फत र विभिन्न खालका कानून अकर्षिक हुने गरी नै लगानी गरेको हुन्छ र गर्नुपर्दछ । ऋण भनेको निश्चित अवधिमा निश्चित समयमा निक्र्योल गरेको वा प्रतिबद्धता गरेको ब्याज तथा किस्ता तिर्छु भनेर लिइएको पैसा नै हो । समयावधि भित्र जुन जुन अवस्थामा तिर्ने गरी शर्त नामामा उल्लेख गरी लिइएको पैसा हो सोही समय अवधि भित्र तिर्नैपर्दछ, आलटाल गर्ने अटेर गर्ने बहाना बनाउने काम गर्नै हुन्न । यो कुरा सत्य नै हो । तर संस्थाले पनि ऋण लगानी गर्दा सहकारी ऐन तथा नियमावलीले उल्लेख गरेका वा किटान गरेको प्रतिशत भन्दा बढी ब्याजदरमा तमसुक लगायतका कागजातहरु निर्माण गरेर लगानी गर्न पाइन्न । त्यसैले कानूनी रुपमा आफ्ना क्षणीक फाइदाका लागि बनाइएका वा आफु वा संस्था उल्लेख्य फाइदा हुने गरी कोहि कसैले कानूनको सिमा भन्दा बाहिर गएर गतिविधिहरु गरेको भए उक्त कार्यहरु गैरकानूनी हुने निश्चित छ । केहि संस्थाहरुमा यी र यस्ता खालका गतिविधिहरु भएको समेत पाइएको छ । सहकारी संस्थामा सदस्यहरुले नै बचत गरेको पैसा सदस्यलाई नै गर्जो टार्न निश्चित ब्याज सहित भुक्तानी गर्ने गरी सापटी दिएको पैसा अर्कैको पैसा हो । शर्त सहितको पैसा कानूनी रुपमा कागज गर्दै तिर्छु भन्दै लिने अनि अटेर गरी बस्ने जो कोहि पनि उम्कन सक्ने अवस्था चाहि पक्कै हुन्न । संस्थामा पनि आफ्ना समस्याहरु पक्कै हुन्छन् । समय भित्र ऋण लगेर ऋणीहरुले पैसा नतिर्दा संस्था निरन्तर चलिरहने अवस्था कहाँ हुन्छ र ? एकाघर परिवारका सदस्यहरु सहितलाई साक्षीका रुपमा राखि आफ्नो जग्गा धितोमा समेत राखेर लिइएको ऋण अहिले अटेर गरी अरुको कुरा सुनेर ब्याज तथा किस्ता तिर्नका लागि आनाकानी गर्दा दिन प्रतिदिन त्यसको ब्याज तथा कानून अनुसारको हर्जना समेत बढेर अर्को बर्षमा तिर्नुपर्दा झन बोझिलो हुने कुरामा दुइमत छैन । भएको सम्पतीलाई झन बोझीलो बनाउँदै अटेर गर्नु हुँदैन । केहि समस्याहरु छन् भने संस्थामा जानु पर्दछ । संस्थामा बसेर आवश्यक छलफल गर्दै निचोडमा पुग्न सकिन्छ । संस्थाले फोन गरेको बेलामा फोन नउठाउने, सम्पर्कमा नरहने, भाग्ने, छल्ने लुक्ने जस्ता गतिविधि गरिरहँदा संस्था र शेयर सदस्यको सम्वन्धमा शंका उत्पन्न हुन्छ । त्यसैले निरन्तर संस्थामा जाने आफुलाई असहज भएको बिषयमा इमान्दिारिताका साथ कुरा राख्ने अवस्य समस्या समाधान हुन्छ ।
निरन्तर संस्थाले सम्पर्क गर्न वा ऋणको बारेमा जानकारी गराइ सचेत गराउन खोज्दा सम्पर्क बाहिर जान खोज्दा भोलीको दिनहरुमा ठूलै समस्याहरु आउन सक्छ । संस्थाले ऋणको अवधि समाप्ति भए सँगै गरिने गतिविधिका कारण तपाइले कमाउनु भएको इज्जत र प्रतिष्ठामा आँच आउन सक्छ । ३५ दिने सूचना आफ्ना परिवार अनि पुस्ताहरुको तीन पुस्ते विवरण फोटो सहित सार्वजनिक गर्दा ऋणी सदस्यका बुबा हजुरबाहरुले हिजो समाजमा छोडेको छापको के इज्जत रहन्छ र खै ? अझ लिलामी प्रकृयामा अगाडि बढ्दै गर्दा सहकारी संस्थामा सदस्यले राखेको धितो विवरण सहित जग्गा लिलाम प्रकृयामा जाँदा ऋणीलाई समाजले अनि अन्य बैंक तथा बित्तिय संस्थाहरुले भोलिका दिनमा हेर्ने दृष्टिकोण र व्यवहार पत्याई नसक्नु हुन्छ । जहान बच्चाहरुको मनोविज्ञान, अध्ययन, क्यारियर लगायतमा प्रष्ट रुपमा बाधा पुग्न सक्छ । यसैले अहिले हामीले पेलेर पैसा तिर्दैनौं होला तर १० बर्ष पछाडी भएपनि ऋणीले शर्त सहित लगेको पैसा कानूनी रुपमा नियमानुसार संस्थामा नबुझाई सुखै छैन । आजै संस्थामा जानुहोस आफ्नो असहज अवस्था जानकारी गराउनुहोस । सल्लाह गर्नुहोस, सुझाव माग्नुहोस आखिर दुःख परेका बेलामा हिजो पनि साथ दिएको आज र भोली पनि साथ दिने त्यहि संस्था नै हो । ताली एक हातले मात्र बज्दैन, दुवै हातले बजाउनुपर्दछ हातेमालो गर्नुपर्दछ । यहाँ (सहकारी संस्थामा) त नजिकैका मानिसहरुले नेतृत्व गरिरहेका छन् संस्थाको टाढाको मान्छे भएको बैंक तथा बित्तिय संस्थामा जानु भयो भने वास्ता नगर्लान तर यहाँ त तपाइ हामीलाई माया गर्ने, आनी बानी बुझेका नेतृत्व तथा सञ्चालकहरु छन् र त हामीलाई सजिलो छ । त्यसैले अब ढिलो गर्नु हुदैन आखिर एकदिन लगेको ऋणको ब्याज र साँवाको किस्ता तिर्नै पर्दछ भने किन बियाँलो गर्नु ? आफु सुरक्षित हुने, परिवार सुरक्षित राख्ने र इज्जत र प्रतिष्ठा जोगाइ राख्नका लागि मात्र भएपनि ऋण तिर्नै पर्दछ ।
सहकारी संस्थाले पनि ऋणी सदस्यलाई सौतेलो ब्यवहार गर्नु हुँदैन । ऋणीको पिर मर्का बुझ्नु पर्दछ र सकेसम्मको सहजीकरण गर्ने तर्फ केन्द्रित हुनु पर्दछ । कानूनी प्रकृया गरेर असुल गर्ने भन्दा पनि ब्यवहारिक पाटोबाट सुल्झाउने प्रयत्न गर्नुपर्दछ । सदस्य सहकारी संस्थाको मालिक हो, सदस्यहरुको निक्षेप सदस्यहरुलाई नै लगानी गरिएको छ र त्यही ऋणी सदस्य भोलीको निक्षेपकर्ता हुनसक्छ भन्ने मनन गर्नुपर्दछ । त्यसैले सहकारी संस्था भनेको सदस्यहरुकै हो, आजको सञ्चालक भोलीको सदस्य हो र आजको सदस्य भोलीको सञ्चालक हो । दुबै पक्षले एक अर्काको जिम्मेवारी तथा दायित्व बुझेर जित जितको अवस्थामा हालको परिस्थितिलाई सामना गर्नुपर्दछ ।