
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षा बन्धन आज देशभर धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वका साथ मनाइँदैछ। यस पर्वलाई जनैपूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन तथा विभिन्न समुदायमा फरक–फरक नाम र परम्परासहित मनाउने गरिन्छ।

जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायका पुरुषहरूले बिहानै नदी, पोखरी तथा जलाशयमा स्नान गरी वैदिक विधिअनुसार नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने प्रचलन छ। नयाँ जनै धारण गर्नुअघि ऋषिहरूको स्मरण तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी समेत भनिन्छ।

यसै दिन गुरु तथा पुरोहितले वैदिक मन्त्रोच्चारण गर्दै भक्तजनको नाडीमा मन्त्रिएको रक्षासूत्र अर्थात् डोरो बाँधिदिने प्रचलन छ। रक्षासूत्रले नकारात्मक तत्व तथा रोगव्याधिबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहँदै आएको छ।


रक्षा बन्धनका रूपमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीको संरक्षण गर्ने प्रतिबद्धतासहित उपहार दिने परम्परा छ। विशेषगरी तराई–मधेस क्षेत्रमा राखी बाँध्ने चलनलाई पारिवारिक प्रेम र आत्मीयताको प्रतीकका रूपमा मनाइन्छ।
काठमाडौं उपत्यकाका नेवार समुदायले भने यस पर्वलाई गुँपुन्हीका रूपमा मनाउने गर्छन्। यस अवसरमा विभिन्न जातका गेडागुडी मिसाएर तयार पारिएको पौष्टिक परिकार क्वाँटी खाने चलन छ। वर्षायाममा शरीरलाई ऊर्जा प्रदान गर्ने तथा स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले क्वाँटी खाने परम्परा पुस्तौंदेखि चलिआएको छ।
नेवार समुदायमा यस दिन वर्षा र कृषि कार्यमा सहयोग गर्ने भ्यागुतोलाई सम्मानस्वरूप भात खुवाउने ‘ब्यां जा नकेगु’ परम्परा पनि रहेको छ।
जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक तथा तीर्थस्थलमा विशेष पूजा, मेला तथा धार्मिक अनुष्ठान आयोजना हुने गर्छन्। रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वरलगायतका धार्मिकस्थलमा यस पर्वको विशेष महत्त्व रहेको छ।
यसरी जनैपूर्णिमा तथा रक्षा बन्धन धार्मिक आस्था, आध्यात्मिक शुद्धीकरण, पारिवारिक प्रेम, सामाजिक सद्भाव र मौलिक संस्कृतिलाई जोड्ने महत्वपूर्ण नेपाली पर्वका रूपमा मनाइँदै आएको छ।

